रत्नपार्कको हात हेर्ने बाजेले युवतीहरु यसरी फसाउछन : थाहपाई राखौ


जब ठगहरू ‘गुरुबा’ बन्छन्, व्यभिचारीहरू ‘बाबा’ बन्छन्, धूर्तहरू ‘माता’ बन्छन्, दुःखी र चिन्तितहरू ठगिन्छन् र लुटिन्छन् । देशैभरि अन्धविश्वासका पसल चलिरहेका छन् । बाँझोपनको उपचार गर्ने निहुँमा महिलालाई आफूसँग शारीरिक सम्बन्ध राख्न हौस्याउने मतिभ्रष्ट बाबाहरू छन् यहाँ । ज्योतिषशास्त्रको सामान्य जानकारी पनि नभएकाहरू ‘ज्योतिष पण्डित’को साइनबोर्ड झुन्ड्याएर बसेका छन् । लुटेरा बाबा र माताका काला कर्तुत उतारेका छन्, अम्मर जिसीले । सुन्धाराको आकाशेपुलमुनि साँघुरो सटर–कोठामा छ, ‘शिवशक्ति ज्योतिष फलादेश केन्द्र’ । दिउँसोको साढे ३ बजे केही महिलामात्र ‘ज्योतिष’बाट उपचार पाउन बाँकी थिए । दिनहुँ महिलाको भीड लागिरहने यस केन्द्रमा आफूलाई प्रख्यात ज्योतिष बताउने टीका योगी कुँवरले ‘ज्योतिष सेवा’ दिइरहेका थिए । लामो चुल्ठो पालेका उनले एउटा कुर्सीमा आफ्ना गोडा बिसाएर नजिकै स्टुलमा एक अधबैँसे महिला राखेका थिए । महिलाको कपडाभित्र उनका दुवै हात सलबलाइरहेका थिए । ती महिलापछि एक किशोरीको पालो आयो । उनको पनि कपडा छिचोलेर पेटतिरबाट ज्योतिषका हात सलबलाउन थाले । ती किशोरी काउकुतीले भुतुक्क भइन् । ‘के काउकुती मान्या, मोरी’ भन्दै टीकाले गाला चिमोटे । पालो कुरिरहेका अन्य महिलासँग ठट्टा गर्दै उनले आफ्नो काम जारी राखे । अर्की छोरी समाएर बसेकी ती किशोरीकी आमा छेउमै थिइन् । किशोरीलाई चण्डीमा हात राख्न लगाएर कसम खुवाए ज्योतिषले, ‘अबदेखि बुवासँग रिसाउन्न । ठूलाले भनेको मान्छु । नराम्रो संगत छोड्छु...।’ त्यसपछि उनले किशोरीलाई कम्मरमा बुटी बानिदिए । र, शुल्क लिए, एक हजार रुपैयाँ । आधा घण्टाको बीच उनले चारपाँच जना महिलासँग यही प्रक्रिया दोहो¥याए । ‘मैले गाउँमै ज्योतिष विद्या पढेको हुँ,’ उनले शुक्रवार संवाददातासँग गाह्रो मानेर कुरा गरे, ‘यहाँ केन्द्र खोलेको १४ वर्ष भयो । धेरै विधि हुन्छन् ज्योतिष उपचारका । धेरैले विश्वास गरेर त अहिलेसम्म टिकेको छु । दिनमा कहिले पाँच सय त कहिले पाँच हजार रुपैयाँ कमाइन्छ । धेरैलाई निको पारिसकेको छु ।’ उनको यो केन्द्रमा धाउने अधिकांश महिला हुन्छन् । अस्पतालमा बिरामीको जत्तिकै त्यहाँ पनि लामै लाइन बस्नुपर्छ । ‘डाक्टरकोमा धाउँदाधाउँदा हैरान परेर उहाँकोमा आएकी छु,’ उपचार गराउने एक महिलाले भनिन्, ‘मलाई त डाक्टरको भन्दा गुरुबाको उपचारमा विश्वास लाग्छ । उहाँको झारफुकले पीडा कम भएको छ ।’ ‘सेक्समार्फत उपचार’ नयाँबानेश्वरस्थित संविधासभा भवनको सीधा अगाडि छ, महाकाली ज्योतिष तथा हस्तरेखा विज्ञान केन्द्र । यसका सञ्चालक हुन्, आफूलाई चर्चित युवा ज्योतिष र ज्योतिषविद्यामा विद्यावारिधिको उपाधि पाएको बताउने हरि खरेल । सधैँजसो मान्छेहरूको भीडभाड भइरहने यो केन्द्र केही दिनदेखि बन्द छ । कारण, उनका कुकृत्यहरू सार्वजनिक भए । विभिन्न रोगको उपचारका लागि आफूकहाँ धाउने महिलालाई ‘मसँग सम्भोग गरेमात्र तपाईंको उपचार सफल हुन्छ’ भन्ने सल्लाह दिएर आफ्नो यौनप्यास पनि मेट्ने र पैसा पनि कुम्ल्याउने ज्योतिष हुन् उनी । केही सञ्चारमाध्यममा उनको शोषण सार्वजनिक भएपछि उनी अहिले सम्पर्कविहीन भएका छन् । केन्द्रको बोर्डमा लेखिएको छ, ‘कम उमेरमै देशविदेशमा प्रसिद्धि कमाउन सफल ज्योतिष हरि खरेलबाट मानसिक रोग, दम, हातगोडा नचल्ने, बाथ, सुगर, महिलाको मासिक गडबडी, सेतोपानी बग्ने, कम्मर दुख्ने बिरामीको उपचार ।’ देशविदेशका राजनेता, कलाकार, गायिका, नायक–नायिकाको ग्रहफल हेरिसकेका भनेर आकर्षक विज्ञापन पनि गरिएको छ । बाँझोपनको उपचारमा भौँतारिइरहेका पुजन (नाम परिवर्तन) को जोडी ज्योतिष खरेलसम्म पुग्यो । ‘पहिला त धेरै रिंगाए हामीलाई पनि । कहिले ग्रहदशा शान्त गर्ने, कहिले पूजाआजा गर्ने त कहिले दान गर्ने भनेर धेरै खर्च गराए,’ पुजनले भने, ‘ज्योतिषले मेरी श्रीमतीलाई ‘मसँग सेक्स गरेमात्र बच्चा हुन्छ’ भन्न थालेपछि हामी पछि हटेका हौँ ।’ उनका अनुसार ज्योतिष खरेलले आफूसँग सम्भोग गरेको तीन वर्षभित्र बच्चा जन्मने आश्वासन दिएका थिए । धेरै महिलाहरूले उपचार सफल हुने विश्वासमा खरेलले भनेअनुसार गरेको पुजनले बताए । ‘यस्ता पाखण्डी ज्योतिषलाई देखाएर के होला भनेर त्यसपछि हामी त्यहाँ जानै छोड्यौँ,’ उनले भने । पीडितहरूको जानकारीका आधारमा समस्या समाधानको पहल गरिरहेको बताए, वैदिक सनातन हिन्दू परिषद् संस्थागत संघर्ष समितिका उपाध्यक्ष रामेश्वर थापाले । ‘हरि खरेलबाट पीडित भएकाहरूको आग्रहमा हामीले यो पहल थालेको हौँ,’ उनले भने । खरेलले आफूमाथि लागेका सबै आरोप स्विकारेको र सुध्रने मौका मागेको उनले जानकारी दिए । ‘उनका दुई श्रीमतीसमेतलाई राखेर छलफल गर्दा खरेलले माफी माग्ने र अबदेखि त्यसो नगर्ने बताएका छन्,’ थापाले भने । उनका अनुसार ज्योतिष खरेलले लामो समयदेखि उपचारका नाममा महिलाहरूसँग शारीरिक सम्पर्क गर्दै आएका थिए । ‘विदेशमा श्रीमान् भएका श्रीमतीहरूलाई एक्लोपन हटाइदिने, कसैलाई जोडी मिलाउने त कसैलाई श्रीमान्–श्रीमती छुटाइदिनेसम्मका आश्वासन दिँदा रहेछन्,’ उनले भने । धर्मको खोल ओढेर मनपरी भ्रम सिर्जना गर्ने खरेलजस्ता व्यक्तिले ज्योतिष विज्ञान र हिन्दू धर्ममै गम्भीर आघात पुगेको थापाको ठहर छ । राष्ट्रिय ज्योतिष सेवा समितिका महासचिव विश्वप्रेम भट्टराईले भ्रमको खेती गर्ने ज्योतिषहरू देशव्यापी छरिएको बताए । ‘आफूलाई ज्योतिष बताउने यस्ता झुण्ड देशैभरि फैलिएका छन्,’ उनले भने, ‘राज्य तथा नागरिकका स्तरबाट थप कदम नचालिए समाजमा विकराल समस्या आउन सक्छ ।’ ललितपुर, पाटन, बंगलामुखीमा ग्रहदशासँगै हरेक खाले रोग निको पारिदिने लेखिएको एउटा बोर्ड देखिन्छ । महिलाको सेतोपानी बग्ने, पाठेघर खराबी, बाँझोपनलगायत थुप्रै रोग निको पारिदिने सूचनासहितको साइन बोर्ड हेरेर त्यहाँ छिर्ने धेरै हुन्छन् । सो बोर्डमा लेखिएका ज्योतिष कमलप्रसाद घिमिरे (शर्मा) आफू ज्योतिषविज्ञ नै भएको दाबी गर्छन् । ‘महिलाको सेतोपानी बग्ने समस्या १५ दिनको औषधि खाए चैट् पारिदिन्छु,’ उनले भने, ‘बाँझोपनको त ग्यारेन्टी दिएर औषधि गराउँछु । सेतोपानीको उपचारका लागि १५ सय र बाँझोपनका लागि २५ सय जति खर्च लाग्छ ।’ बच्चा हुन नसकेका कुनै पनि महिलाले पहिलो महिना तीन दिन र दोस्रो महिना चार दिन औषधि खाए गर्भ रहने उनको दाबी छ । ‘कति जनाको सफल भइसक्यो,’ उनी आफूले नसक्ने उपचार सायदै भएको दाबी गर्छन् । बाँझोपनको उपचारको पछि लाग्दा सामाखुशी बस्ने रीता (नाम परिवर्तन)को वैवाहिक जीवनमै पूर्णविराम लाग्यो । विवाह गरेको तीन वर्षसम्म सन्तान नभएपछि उनी साथीको सल्लाहमा आफूलाई ठूलो ज्योतिष बताउने ज्ञानकुण्ड बाबाकहाँ पुगेकी थिइन् । रीताको पूरै अवस्था बुझेपछि उनले टाढाबाट नातेदार पर्नेसँग विवाह गरेकाले ‘वंश’मा समस्या भएको बताए । हुन पनि त्यस्तै थियो, टाढाबाट दाजु नाता पर्नेसँग विवाह गरेर धादिङबाट भागेर काठमाडौँ आएकी थिइन् उनी । त्यसपछि ती बाबाले ‘साधुसँग सम्भोग’ गरेमात्रै कोख भरिने उपाय बताइदिए । भागी विवाहका कारण परिवारबाट एक्लिएकी उनी कुनै पनि हालतमा बच्चा चाहन्थिन् । उनले त्यस्तै गरिन् । ती बाबासँग सम्भोग गरेको दुई महिनासम्म पनि गर्भ नबसेपछि फेरि उनैकहाँ गइन् । बाबाले सात दिनसम्म त्यस्तो गर्नुपर्ने बताएपछि उनी तयार भइन् । एकदुई दिन लुकीछिपी भए पनि चौथो दिन रीताका श्रीमान्ले चाल पाए । उनको पिछा गर्दै जाँदा बाबासँग सम्भोगका लागि तयार भएको अवस्थामा भेटे । बाबालाई रगतपच्छे हुनेगरी पिटेर रीतालाई फिर्ता ल्याएका उनले केही दिनमै उनीसँग सम्बन्ध विच्छेद गरे । अहिले ती बाबा त्यो ठाउँबाट फरार छन् । रीता नयाँ बसपार्कको एक होटलमा भाँडा माझ्छिन् । फुटपाथैभरि ‘ज्योतिष’ २० वर्षीय दिवाराम गिरी भारत, आन्ध्रप्रदेशबाट काठमाडौँ आएको दुई वर्ष भयो । रत्नपार्क, सुन्धारा क्षेत्रका फुटपाथमा बसेर ज्योतिष कर्म गर्ने उनी आफूलाई ज्योतिष विद्याको पूरै ज्ञान भएको बताउँछन् । ‘मैले धेरै बिरामीलाई सञ्चो पारिसकेँ,’ उनले दाबी गरे, ‘सन्तान नजन्मेकालाई पनि उपचार गर्न सकिन्छ ।’ उनी ग्रहशान्ति गर्ने र भाग्यरेखा हेर्ने काम पनि गर्छन् । तर, धेरै आम्दानी बाँझोपनको उपचारबाट हुन्छ । बाँझोपनको उपचारका लागि शिवलिंगीजस्तो देखिने साना सातवटा दाना फलफूलमा हालेर सात दिन सेवन गर्नुपर्ने उनको तरिका छ । भारतबाटै आएका रिझनलाल यहाँ ज्योतिष काम गर्न लागेको १३ वर्ष भयो । ‘यहाँका धेरैले हामीलाई विश्वास गर्छन्,’ उनी दंग छन्, ‘जागिर नपाएका, विदेश जान लागेका केटाकेटी त झन् धेरै विश्वास गर्छन् ।’ उनको दैनिक कमाइ कति होला ? ‘कहिले पाँच सय त कहिले पाँच हजार पनि हुन्छ । फिक्स हुन्न,’ उनले भने । उनका अनुसार न्युरोडको संकटा मन्दिर छेउछाउमा मात्र भारतबाट आएका ३५ जना ज्योतिष छन् । ‘हामी सबैलाई ज्योतिष ज्ञान धेरै छ,’ नेपालीको भाग्य र भविष्य बताउन आफूहरू माहिर रहेको समेत उनी दाबी गर्छन् । सुरुमा ‘भेटी चढाउनुस्’बाट सुरु हुने उनीहरूको ज्योतिष विद्या अन्तिममा ‘इमोसनल ब्ल्याकमेलिङ’सम्म पुग्दा हात देखाउनेको गोजी रित्तिसकेको हुन्छ । संकटा मन्दिरकै छेउमा ज्योतिष काम गरेर भारत, बिहारमा तीनतले घर बनाइसकेको बताउने चिन्डीमोहन ४५ वर्षका भए । ‘घरमै सिकेको हो ज्योतिष,’ उनले भने, ‘नेपालमा कमाइ राम्रो हुन्छ । धेरैले विश्वास गर्छन् ।’ उनले ग्रहदशादेखि सबै रोगको उपचार गराउने जिम्मा लिन्छन् । माताका प्रपञ्च काठमाडौँ, तीनकुनेकी सुनीता शाह हुनेखाने परिवारकी हुन् । उनी श्रीमान्की दोस्री श्रीमती हुन् । श्रीमान्ले थुपारिदिएको सुनलगायत धनमाल प्रशस्त थियो उनीसँग । उनको चिन्ताको विषय नै त्यही थियो, ‘यत्रो धनमाथि कसैले आँखा गाड्यो भने के होला ?’ त्यसै बेला उनको चिन्तामा घिउ थपिदिने एक माता प्रकट भइन् । माताकै भेषमा प्रकट भएकी भारतीय मूलकी ती महिलाले हात हेरिदिइन् सुनीताको । ‘तपाईंलाई ग्रहले घेरेको छ । त्यसैले धनसम्पत्ति शुद्ध गर्नुपर्छ,’ माताले कान फुकिहालिन् । सुनीतालाई पनि सम्पत्ति शुद्ध बनाउने मौका यही हो भन्ने लाग्यो । दराज र सुटकेसमा सुरक्षित गरिएका भएभरका गरगहना, पैसा, लालपूर्जा ल्याएर शुद्ध पार्न माताको जिम्मा लगाइदिइन् । माताले रचेको प्रपञ्च सफल हुँदै थियो । सानो थैलोमा भरिएको माटोमा सुनीताको ‘सम्पत्ति’ हालेर चारैतिर चलाइन् । मन्त्रले कोठा गुञ्जायमान थियो । सुनीता मख्ख थिइन् । आधा घण्टापछि माताले थप उपाय बताइन् । ‘अब यो थैलो भोलिसम्म नखोल्नुस्,’ माता भोलि आउने भनेर त्यहाँबाट निस्किइन् । भोलिपल्ट माटो भरिएको झोला खोल्दा त दुइटा ढुंगा र लालपूर्जा मात्र । कतिबेला आँखा छलेर माताले नौ तोला सुन र दुई लाख रुपैयाँ नगद उछिट्याइन्, सुनीताले पत्तो पाइनन् । तथाकथित माताकै विश्वासमा परेर २० लाखको हिराको हार गुमाइन्, नयाँबजारकी विद्या खत्रीले । उनले पनि शुद्ध गर्ने नाममा मातालाई जिम्मा लाएको हार सुनीताकै जसरी एकैछिनमा विलीन भयो । ‘चामलको झोलामा हालेर झोला नै जिम्मा लगाइन्,’ विद्याले भनिन्, ‘त्यो हार त कतिबेला आफ्नो झोलामा हालिछिन्, पत्तै पाइनँ । मलाई त भाउन्न भयो ।’ जुन झोलामा हालेको त्यही झोला जिम्मा लाएपछि विश्वास गरेको उनले बताइन्, ‘सबै बित्यास पारिन् नि ।’ दाइजोमा पाएको हार माताले लुटेपछि अहिले घरमा बितण्डा मच्चिएको उनले बताइन् ।
सामाखुसीकी इच्छा गुरुङको कोठामा चोरी भयो । ल्यापटप, आइफोन, पैसा सबै चोरिएपछि उनले प्रहरीमा उजुरी गरिन् । तर, प्रहरीले चासो दिएन । त्यसपछि उनी मनमैजुकी प्रख्यात भनिने एक माताको ‘आश्रम’मा पुगिन् । ‘माताले हातमा कालो धुलो दलेर हेर्न लाउँथिन् र त्यसमा चोरीको सबै दृश्य देखिन्छ, ध्यान दिएर हेर भन्थिन्’, इच्छा भन्छिन्, ‘मैले केही नदेखेपछि मेरो बहिनी, साथी धेरैलाई हेर्न लगाइन् । कसैले देखेनन् ।’ नदेखिएपछि माताले ‘आज ग्रह मिलेन, भोलि आउनू’ भनिन् । भोलिपल्ट उनलाई बुटी बाँध्न लगाएर हेराइयो । बुटी लाउँदा पनि नेदेखिएपछि माताले इच्छाको ग्रहदशा खराब भएको सुनाइन् । कुरा गर्दै जाँदा इच्छाले आफू रोगी भएको बताइन् । माताले रोग निको पार्ने दाबी गर्दै अनेक रीतिरिवाज गर्न लगाइन् । ‘चोर समातिएला कि भनेर माताकोमा गएकी थिएँ,’ उनले भनिन्, ‘चोरको कुरा छोडेर माता त मेरो रोग निको पार्नतिर पो लागिन् । पन्ध्र÷बीस हजार रुपैयाँ सकिएपछि जान छोडेँ ।’ ००० माताको भेषमा ठगी गर्ने र बाबाको भेषमा यौन प्यास मेटाउनेहरू हाम्रो गाउँ–शहरमा थुप्रै छन् । दुःखमा परेर रन्थनिएका र अन्धविश्वासी मानिस उनीहरूको शरणमा पर्ने गरेका छन् । बाबा र माता भनाउँदाले भने ज्योतिष विद्याका नाममा दुनियाँलाई लुटिरहेका छन् ।
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment