अब गाई र भैंसीलाई पनि सुत्केरी खर्च

काठमाडौं, १९ पुस-
सुत्केरी महिलालाई सरकारले हजार रुपैयाँ भत्ता दिँदै आएको छ । तर अब यो भत्ता उनीहरूमा मात्रै सीमित रहने छैन । पशु सेवा कार्यालय मकवानपुरले गाई–भैंसीलाई समेत त्यति नै सुत्केरी भत्ता दिने भएको छ । यो आर्थिक वर्षमा पहिलोपल्ट १ सय २५ वटा गाई–भैंसीले यस्तो सुविधा पाउने भएका छन् ।

सुत्केरी पशुको स्याहारमा किसानलाई प्रेरित गर्नका लागि भत्ताको व्यवस्था मिलाइएको पशु सेवा कार्यालयका प्रमुख रामप्रकाश प्रधानले बताए । उनका अनुसार चालू आर्थिक वर्षर्को दोस्रो चौमासिकदेखि भत्ता वितरण गर्ने तयारी छ । दोस्रो चौमासिकमा ५० र तेस्रोमा ७५ वटा सुत्केरी चौपायाका धनीले रकम पाउने छन् ।

सुरुमा दुग्ध उत्पादक सहकारी संघले छनोट गरेका दुईवटा संस्थामा आबद्ध कृषकका सुत्केरी चौपायालाई भत्ता वितरण गरिने कार्यालयले जनाएको छ । प्रधानका अनुसार उक्त रकम गाई–भैंसीलाई पौष्टिक आहारा खुवाउन प्रयोग गर्नुपर्ने छ ।

आवश्यक मात्रामा क्याल्सियमलगायत पौष्टिक आहारा खुवाउन नसक्दा साल र बच्चा अडकिने, गाई–भैंसी मर्ने तथा किसानको लगानी खेर जाने समस्या छ । त्यसबाट पार पाउन यो योजना ल्याइएको प्रधानले बताए । गाई–भैंसी ब्याउनुअघि नै उक्त खर्च कृषकको हातमा पुर्‍याइने पनि उनले जनाए । त्यसबाट कृषकको लगानी संरक्षण हुनुका साथै उत्पादकत्व वृद्धि हुने कार्यालयको अपेक्षा छ । कान्तिपुर दैनिकबाट
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment