शक्तिशाली गोरखा भूकम्पपछि निरन्तर परकम्प जाने क्रम पनि जारी

काठमाडौँ, २२ चैत, गत वैशाख १२ को ७.६ रिक्टर स्केलको शक्तिशाली गोरखा भूकम्प र त्यसयताका परकम्पको मात्र रेकर्ड हुन्छ । उक्त भूकम्पपछि निरन्तर परकम्प जाने क्रम पनि जारी छ । हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४४५ परकम्प गएका छन् तर अहिले दैनिक ४ रिक्टर मुनिका ४० वटासम्म भूकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसो त, वैशाख १२ को भूकम्पअघि पनि नेपालमा दिनहुँ ४ रिक्टर मुनिका १२ देखि १५ वटा भूकम्प गइरहेका हुन्थे । यद्यपि तिनको रेकर्ड राखिन्नथ्यो । ठूलो भूकम्पपछि परकम्प आउनेक्रम जारी रहेको र अहिले पनि दैनिक ३० देखि ४० वटासम्म भूकम्प गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । “वैशाख १२ को ७।६ रिक्टरको भूकम्पपछि हालसम्म गइरहेका परकम्प भनिए पनि भूकम्प नै हो ।” – उनले भने । गोरखा भूकम्पपछि सुरुको एक महिनासम्म दिनमै ४ रिक्टर स्केलभन्दा मुनिका एक हजार ३०० सम्म भूकम्प (परकम्प) गएका थिए भने लामो समयसम्म दैनिक ५०० वटा भूकम्प गएका थिए । पछिल्लो समय परकम्प कम हुँदै गएको छ । ठूलो भूकम्प गएपछिको अवस्थामा लामो समयसम्म परकम्प नगएमा ठूलो भूकम्प जाने खतरा भएकाले परकम्प समय समयमा गएकै राम्रो हुने विज्ञहरु बताउँछन् ।     केन्द्रको विवरणअनुसार वैशाख १२ को भूकम्पअघिका वर्षहरुमा ४ रिक्टर स्केलभन्दा माथिका वार्षिक २५ देखि ६० वटा भूकम्प गएका थिए । यसैबीच आज बिहान ९ बजेर ४० मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।रासस 

Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment